१९ असार २०८३, शुक्रबार

पहिरोले बुटवलमा ७ घर पुर्‍यो, विस्थापितहरूलाई क्याम्पसमा राख्ने तयारी

पहिरोले बुटवलमा ७ घर पुर्‍यो, विस्थापितहरूलाई क्याम्पसमा राख्ने तयारी

अविरल वर्षासँगै खसेको पहिरोले बुटवलमा ७ वटा घर पुरेको छ । 

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरोले ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

मानवीय क्षति भने अहिलेसम्म भएको छैन । वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् । यस क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । शनिवार पनि झरेको पहिरोले १२ घरमा क्षति पुर्‍याएको छ ।  

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । विस्थापित परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा राख्ने तयारी भइरहेको छ । 

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए । 

ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । 

ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म छ । स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्