
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ३० लाख ७ हजार रुपैयाँसहित २ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।
गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जाँच गर्ने क्रममा गौतमले हुण्डी कारोबारमा प्रयोग गरिएको उक्त नगद बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाइँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत अहिलेसम्म १० लाख ६० हजार ७०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाइँको मास्क खै ?’ अभियान गएको वैशाखदेखि चलाएको थियो । मंगलवार मात्रै ४ हजार बढीलाई मास्क दिइएको छ ।