२८ जेठ २०८३, बिहीबार

जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

भदौ १५, २०७८
जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ ।

     कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा (भदौ ९ गतेदेखि १६ गतेसम्म) मा शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र) लगायतका क्षेत्रलाई सञ्चालन गर्न नमिल्ने क्षेत्रमा राखिएको छ । काठमाडौँकै गोकर्णेश्वर नगरपालिकामा आजदेखि विद्यालय खुलेको समाचार आएपछि विद्यालय खोल्न–नखोल्नेबारेमा अन्य पालिकामा जिज्ञासा उत्पन्न भएको छ ।

यसअघि गत साउन २८ गतेदेखि यही भदौ ८ गते कायम निषेधाज्ञामा कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले यस अवधिमा पर्न जाने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वलाई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुने गरी परम्परागतरुपमा साङ्केतिक तवरले मनाउन र भीडभाडजन्य गतिविधि नगर्न भनिएको थियो ।  

    दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा पछिल्ला दिनमा सङ्क्रमणको दर केही घटेकाले ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ ।

    उक्त कार्यविधिको कार्यान्वयनका लागि हरेक मन्त्रालय र निकायले आफूसँग सम्बन्धित क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने अलग अलग कार्ययोजना पेश गरेका छन् । हाल दैनिक मुलुकभर करिब दुई हजारको दरमा सङ्क्रमण दर तथा २० जना मृत्युदर देखिएको छ । कोभिडविरुद्धको खोप लगाउने कार्यमा वृद्धि भएको र खोप लगाउनेमध्ये ९० प्रतिशतमा एन्टिबडीको विकास भइसकेको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सार्वजनिक भएकाले भीडभाडजन्य गतिविधिलाई स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने बुझाइ जनस्तरमा छ तर केन्द्रले त्यस्तो बुझाइलाई मात्रै आधिकारिता मान्दा जोखिमको खतरा हुन सक्ने जनाएको छ ।

    केन्द्रका सहसचिव एवं प्रवक्ता नुरहरि खतिवडाले कार्यविधिमा जोखिमको समग्र विश्लेषण गर्ने स्पष्ट पाँच आधार दिइएको र सोअनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिले प्राप्त तथ्याङ्कका आधारमा सम्बन्धित पालिका र जिल्लालाई सङ्क्रमणको स्तर निर्धारण गरेर कुन कुन क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने निर्णय दिन सक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्