
काठमाडौं, १ असार — गत वर्ष ‘शिवाय’ फिल्म निर्माण गरेका अभिनेता अजय देवगन अहिले बादशाहो र गोलमाल अगेन जस्ता फिल्ममा व्यस्त छन् ।

अजयले बाबा रामदेवको बायोपिक ‘बाबा रामदेव : दी अनटोल्ड स्टोरी’ नामक टीभी सिरियल बनाउने भएका छन् । अभिनव शुक्लाका साथ मिलेर उनले यो सिरियल बनाउन लागेका हुन् ।
बाबा रामदेव र उनका सहयोगी बालकृष्णको जीवनलाई सिरियलमा देखाइने बताइएको छ । कसरी एक साधारण व्यक्ति योगगुरु बनेर अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध हुन पुग्यो र व्यवसायमा सफल भयो भन्ने कथा सिरियलले देखाउनेछ ।
सिरियलका लागि अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि पुसतिरबाट यसको शूटिङ शुरु हुनेछ ।
बाबा रामदेवको भूमिकामा अभिनेता विक्रान्त म्यास्सेलाई साइन गरिएको थियो र उनले बाबा जस्तै बडी ल्यांग्वेज बनाउन थालेका थिए । तर यसबीचमा उनको फिल्म अ डेथ इन द गंज प्रदर्शन भयो र उनले सिरियल खेल्न मानेनन् ।
उक्त फिल्मपछि अरू टन्नै फिल्मको अफर आएकाले उनी त्यता व्यस्त भएका छन् ।
अजय र अभिनव फिल्मका लागि अर्को अभिनयको खोजीमा छन् ।
एजेन्सी