राजधानीमा सुख्खा बन्दरगाह

चोभारमा तयार भयो सुख्खा बन्दरगाह : के-के छन् सुविधा, कहिले आउँछ सञ्चालनमा ?

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लोकान्तरकर्मी देवकोटा आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

चोभारमा तयार भयो सुख्खा बन्दरगाह : के-के छन् सुविधा, कहिले आउँछ सञ्चालनमा ?

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 


Advertisement

अबको केही महिनामा नै यसलाई सञ्चालन गर्न सक्ने गरी संरचना निर्माण भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । 


Advertisement

उद्योग तथा वाणिज्य मन्त्रालय मातहतमा निर्माण भएको यस बन्दरगाहलाई सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको निर्देशक गजुरेलको भनाइ छ ।

बन्दरगाहको २ माइलस्टोनमध्ये १ माइलस्टोन संरचना निर्माण करीब-करीब सकिएको छ,’ उनले थपे, ‘अब सञ्चालन माइलस्टोन पनि पूरा हुनेछ ।’


Advertisement

बन्दरगाह सञ्चालनका लागि सरकारले निर्णय गर्नुपर्ने छ । यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए । 

उनले भने, ‘हामीले संरचना निर्माण भएको जानकारी सरकारलाई दिइसकेका छौँ, अब सरकारले पनि छिट्टै सञ्चालन गर्ने सोच बनाएको बुझिएको छ ।’

कस्तो छ संरचना ? 

२ सय २० रोपनीमा फैलिएको सुख्खा बन्दरगाहमा ३ वटा मुख्य गेट राखिएको छ । मास्टरप्लान अन्तर्गत यी गेटहरू बनाइएका छन् । 

३ वटा भवन बनाइएको छ, जसमा प्रशासनिक, भन्सार तथा क्वारेन्टीनको अलग–अलग भवन निर्माण गरिएको छ ।

बन्दरगाहमा ३ ठूला गोदाम निर्माण भएको छ । ३ वटा स्टफिङ/डिस्टफिङ भन्ने संरचना बनाइएको छ । जसमा सवारी साधनले ल्याउने सामानहरूलाई भन्सार प्रयोजनका लागि चेकजाँच गर्ने तथा लोड/अनलोड गर्ने सुविधा छ । 

यस्तै बन्दरगाहमा पार्किङ यार्ड र कन्टेनर पार्किङ यार्ड निर्माण गरिएको छ । यसमा आवश्यक लाइटिङ सिस्टम, इलेक्ट्रिक सब स्टेसन तथा सीसी क्यामेराहरू पनि जडान भइसकेको छ । 

बन्दरगाहलाई २ भागमा विभाजन गरिएको छ, एउटा आन्तरिक र अर्को बाह्य । कसैले काठमाडौंका लागि पार्किङ गर्न चाहेमा त्यो सुविधा पनि छ । यहाँ सामान केही दिनका लागि राख्छु वा सवारी साधन ल्याएर केही दिनका लागि पार्किङ गर्छु भनेमा पनि सुविधा उपलब्ध छ ।

मास्टरप्लान अनुसार यस पार्किङमा ५ सय कन्टेनर तथा अन्य ५ सय सवारी साधन राख्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । 

त्यहाँ भइरहेका गतिविधिहरूको सुक्ष्म निगरानीका लागि सीसी क्यामेरा पनि बन्दरगाहमा राखिएको छ ।

बन्दरगाहमा ठूला मालबाहक सवारी साधनहरूका कारण निस्कने ध्वनी नियन्त्रणका लागि प्रणाली विकसित गरिएको छ ।

कार्यकारी निर्देशक गजुरेलले भने, ‘हामीले यहाँ साउन्ड ब्यारियर इन्स्टल गरेका छौँ, यसले ध्वनि नियन्त्रण गर्न सहज हुनेछ ।’

विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण भएको छ, जसमध्ये १ करोड ६० करोड बन्दरगाह निर्माणमा र बाँकी २० करोड कार्यालय निर्माणमा खर्च भएको बताइएको छ ।

चीनको साक्षी र नेपालको आशिष निर्माण कम्पनीले बन्दरगाह निर्माणको ठेक्का पाएका थिए । 

वि.सं. २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह निर्माणको काम साढे २ वर्षमा सकिन लागेको हो ।

१८ महिनामाा निर्माण सम्पन्न गर्ने समझदारी भएपनि विभिन्न कारणले ढिलाइ हुँदा साढे २ वर्षमा बन्दरगाहको संरचना तयार भएको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । 

स्थानीयको विवाद र कोरोनाका कारण एक वर्ष यसको काम नभएको उनले सुनाए ।

मालबाहक गाडीको जाँच पासमा सहज

वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभित्ता, तातोपानीलगायतका स्थानमा बन्दरगाह सञ्चालनमा छन् ।

काठमाडौंमा कुनै देशको सीमा नजोडिएको भएपनि बाहिरबाट आयात हुने करीब ६० देखि ७० प्रतिशत वस्तुको उपभोग काठमाडौंबाट हुने भएकाले यसलाई मध्यनजर गर्दै बन्दरगाह निर्माण गरिएको हो । 

यहाँ बन्दरगाह सञ्चालनमा आएसँगै भन्सारमा चाप घट्ने अपेक्षा गरिएको छ । 

काठमाडौँ तराई फास्ट ट्र्याक बनिसकेपछि वीरगञ्जबाट आउने सामानका लागि दूरी कम हुन्छ, भने यसले खर्च घटाउने छ । 

यसो हुँदा व्यापार सहजीकरण, व्यापारी तथा व्यवसायीलाई नयाँ संरचनाका साथ सुविधा मिल्नेछ । 

यति मात्रै नभएर आगामी दिनमा काठमाडौंबाट निर्यात हुने वस्तुहरू सुख्खा बन्दरगाहबाटै गर्न सकिनेछ । 

आगामी दिनमा चीन र भारतबाट रेल आएमा पनि यो जंग्सन पोइन्टको रूपमा विकास हुने बताइएको छ ।

कहिले आउँछ सञ्चालनमा ? 

संरचना निर्माणको काम सकिएपनि यो कहिले सञ्चालनमा आउँछ, भन्ने चाहिँ यकिन भैसकेको छैन ।

बन्दरगाह सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र यससँग सम्बन्धित निकायहरूले छलफल गरिरहे पनि मिति तोकिएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले अन्तरसम्बन्धित निकायहरूबीच बन्दरगाह सञ्चालनका लागि छलफल भइरहेको बताए । 

उनले भने, ‘हामीले अन्तरसम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छौँ, अब छिट्टै सञ्चालनमा आउँछ ।’


 

परिवर्तन देवकोटा
परिवर्तन देवकोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्