
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निर्धारित समयभित्रै मापदण्डअनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
सिन्धुपाल्चोकको बलेफी–तेम्बाथान सडक खण्डको सोमवार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताए ।
उनीसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीका प्राविधिकसहितको टोलीले सो सडकखण्डको निरीक्षण गरेको थियो ।
टोलीले अरनिको राजमार्गअन्तर्गतको बलेफी बजारदेखि नौबीसे सडक खण्ड र जलबीरेदेखि कात्तिके सडक खण्डको जुगल गाउँपालिकाअन्तर्गतको ढाँडे हुँदै गणेश खोलासम्मको निरीक्षण गरेको थियो ।
यस क्रममा निर्माणमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ । सडक डिभिजन कार्यालयका इञ्जिनियर मैना राईले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताए ।
भूकम्पले थिलथिलो बनाएको जिल्लाका पहाडमा यस वर्ष पनि ठूला साना सयौं पहिरो र बाढीका कारण थुप्रै भित्री सडक अवरुद्ध हुन पुगेका छन् ।