
रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टोलकी सीता भण्डारी पौडेल २० गते बिहान घरकै कोठामा मृत अवस्थामा भेटिइन् ।
सीताका बुबा हरिप्रसाद भण्डारीका अनुसार अघिल्लो रात सीता र श्रीमान टीका पौडेल सँगै थिए ।
आइतवार बिहान साढे ५ बजे टीकाले हरिप्रसादलाई छोरीलाई हेर्ने भए आउनू भनेर फोन गरे । ज्वाइँले नै फोन गरेपछि हरिप्रसाद तिलोत्तमा–८ चार नम्बरबाट छोरीको घर पुगे ।
‘छोरीको घरमा सासुससुरामात्र थिए,’ भण्डारीले भने, ‘छोरी खै त ? भनेर सोध्दा उहाँहरू बोल्नुभएन । ज्वाइँ घरमा थिएनन् । कता फरार भएछन् । कोठामा छोरीको लाश देखेँ म बेहोस भएर ढलेँ ।’
कोठाबाट बाथरुम पस्ने ढोकामा काटिएको चुन्नी झुण्डिएको थियो । सीताको शव भुइँमा घोप्टो पारी सिरानीमा टाउको राखिएको रगत लतपतिएको अवस्थामा थियो ।
सीता र टीका पाल्पाबाट भदौ ६ गते माइत चार नम्बर गएका थिए । सीता माइत बसिन् । ७ गते बिहान टीका घर आए । घटना हुने अघिल्लो दिन १९ गते टीकाले सीतालाई फोन गरी भतिजीको जन्मदिन छ घर आउनु भनेर फोन गरेपछि सीता घर गएकी थिइन् ।
२७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्ष अगाडि मागी विवाह भएको थियो ।
सीताका माइती पक्षले छोरीको हत्या गरेर आत्महत्या गरेको बनाएको आरोप लगाएको छ । ‘मेरी छोरीले आत्महत्या गरेको होइन । यो सुनियोजित घटना हो । हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले लिन मानेन,’ भण्डारीले रुँदै भने ।
सीता र टीकाले पाल्पाको तानसेनमा ‘दी दवार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका थिए । सीता माइतीमा आउदा अमाजु (श्रीमानकी दिदी) घरमा आउँदा सम्पत्तिको विषयमा सधैँ झगडा गर्ने र झुट्टा आरोप लगाउने गरेको भण्डारी बताउँछन् । पैसा र पावरको भरमा घटनालाई अन्यत्रै मोड्न खोजिएको माइती पक्षको आरोप छ ।
सीताका मामा आकाश पोखरेलले परिवारकै संलग्नतामा हत्या भएको भन्दै दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने आरोप लगाए । ‘सुतेको अवस्थामा चुन्नीले घाँटी कसी श्वास बन्द गराई अब मरी भन्ने भएपछि बाथरुमको भेन्टिलेटरमा आफैं झुण्डिएको र आफूले पासो काटेको भन्ने भान पार्न पहिले नै काटेको चुन्नी झुण्डाई राखेको हुन सक्छन् ।’
टीकाले सीतालाई दोस्रो विवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि दुई वर्ष अगाडि सीतासँग विवाह भएको थियो । तर, सीताका बुबा हरिप्रसादले पहिलो विवाह बिग्रिएपछि आफ्नो छोरीसँग दोस्रो विवाह गरेको आफूलाई थाहा नभएको बताए ।
प्रहरीले आरोपी टीकालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी मदन कुँवरले टीकालाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको बताए । कुँवरले घटना आत्महत्या दुरूत्साहन जस्तो देखिएको बताए ।
‘पोष्टमार्टम रिपोर्ट सुसाइड (आत्महत्या) गरेको आएको छ । घटनाको विस्तृत अनुसन्धान गर्दैछौँ । सबै पक्षसँग प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ,’ कुँवरले लोकान्तरसँग भने, ‘प्राविधिक विश्लेषणसहित घरदेखि सबै क्षेत्रमा सोधपुछ र निगरानीलाई पनि एकसाथ अघि बढाएका छौँ ।’
अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने माइती पक्षको माग छ ।