१७ असार २०८३, बुधबार

एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी आपत्तिजनक : विवेकशील साझा

एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी आपत्तिजनक : विवेकशील साझा

एमसीसी सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी हुबहु संसदबाट पारित गर्न सरकारले तयारी अगाडि बढाएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । 

‘एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकूल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भई गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि बढ्नु घातक हुनेछ । कि त श्रीलंकाको जस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुन्छ, कि सम्झौता खारेज गर्नु नै उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहेको छ ।’ 

विवेकशील साझाले सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने एवम् राष्ट्रियहित र स्वाधीनता कमजोर बनाउने शर्त गाँसिएर आए त्यस्तो सहयोग कदापि स्विकार्न नसकिने जनाएको छ । 

यस्तै विदेशी सहयोगमा सञ्चालित परियोजनाबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले जारी गरेको वक्तव्यको पनि विवेकशील साझा पार्टीले भ्रर्त्सना गरेको छ । ‘सत्ता समीकरणको बलमा हुबहु पारित गराउन लाग्यो भने हामी त्यसको विरुद्धमा कडा सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

यस्तै विवेकशील साझाले राष्ट्रहित विपरीतको सरकारी कदम रोक्न र सशक्त प्रतिकार गर्न आह्वान पनि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्