
१ नम्बर प्रदेशमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा खुल्ने स्थानीय तहका जनप्रतिनिधि १५६ जना देखिएका छन् ।
एमालेबाट विद्रोह गरेर अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीमा स्थानीय तहका १५६ जनप्रतिनिधि खुलेका छन् ।
एसमा २ मेयर, २ गाउँपालिका अध्यक्ष, १ उपमेयर, १ उपाध्यक्ष, १७ वडाध्यक्ष र अन्य वडा सदस्य खुलेका छन् । खोटाङ जिल्ला समन्वय समितिका अध्यक्ष पनि एकीकृत समाजवादीमा खुलेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा १४, इलाममा ५८ जना एसमा खुलेका छन् । इलाममा माई जोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईसहित १० वडाध्यक्ष एसमा गएका छन् ।
सूर्योदयका ९ जना र माइ जोगमाईका १ वडाध्यक्ष छन् । इलाममा वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एसको पकड देखिएको छ ।
संखुवासभामा १५ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् । तेह्रथुममा गाउँपालिकाका १ अध्यक्ष, १ वडाध्यक्ष, धनुकटामा २ वडा सदस्य, भोजपुरमा १ उपमेयर, १ उपाध्यक्ष र ४ सदस्य छन् ।
खोटाङमा जिल्ला समन्वय समितिका प्रमुखसहित २ सदस्य, १ वडाध्यक्ष र ७ वडा सदस्य एसमा लागेका छन् ।
उदयपुरमा २८ जनप्रतिनिधि एसमा खुलेका छन् । ओखलढुंगामा १ वडा सदस्य मात्रै एसमा लागेका छन् ।
सुनसरीमा ६ वडा सदस्यले मात्रै नयाँ पाटी रोजेका छन् । झापामा १ वडाध्यक्षसहित ७ जनाले एस रोजेका हुन् । मोरङमा ४ वडाध्यक्ष र ४ वडा सदस्यले एस रोजेका छन् ।