
हाल नेपालको मौसममा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
यसैगरी राति देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।