स्वीट्जरल्यान्ड, १ असार - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएकी छन् ।

जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रलाई आज सम्बोधन गर्दै उनले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिकस्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताइन् ।
सूचना प्रविधिको क्रान्तिसँगै विश्व श्रम बजारमा ठूलो सङ्ख्यामा महिलाको पहुँच बढेको छ भन्दै उनले सशक्तीकरणको माध्यम बनाई ब्रह्माण्डलाई प्रविधिसँग जोडेर पहुँच विस्तार गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले लैङ्गिक सवालमा सहस्राब्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले हासिल गरेका उपलब्धिले भविष्यलाई शुभसङ्केत गरेको बताउँदै साक्षरता, विद्यालय भर्ना दर, मानसिक स्वास्थ्य, मातृशिशु मृत्यदर, महिला सशक्तीकरण र राजनीतिक सहभागिताका क्षेत्रमा नेपाल राम्रो प्रगति गर्न सफल भएको स्पष्ट गरिन् ।
नेपालको संविधानको मौलिक हकमा भूमिमा महिलाको स्वामित्व व्यवस्था गरिएको जानकारी दिँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानमा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी अभिसन्धिबमोजिम रोजगारीको अधिकार, श्रम र सामाजिक सुरक्षाका साथै साझा ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजीलाई मौलिक अधिकारमा समावेश गरिएको अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइन ।
राज्यका सबै निकायमा महिलाको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको बताउँदै उनले हालै सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा महिलाको राजनीतिक सहभागिता उल्लेखनीय रुपमा विस्तार भएको बताइन् । त्यसैगरी स्वायत्त राष्ट्रिय महिला आयोगले महिलासम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पालनाका लागि सोसँग सम्बन्धित निकाय स्थापित गर्दै अघि बढिएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
संविधानले समाजवादउन्मुख शासन प्रणालीको परिकल्पना गरेकाले सामाजिक बहिष्करणमा परेका सबै समुदायलाई समता र सामाजिक न्यायको सुनिश्चितता गर्दै उनले विभेदको अन्त्यसहित मूल प्रवाहीकरण गर्ने सोचसहित मुलुक अगाडि बढेको बताइन् ।
“नेपाली समाज यहाँसम्म आइपुग्नुका पछाडि यसको लामो सङ्घर्षको इतिहास छ । हामी दास र सती प्रथाबाट मुक्त हुँदै बालविवाह, बहुपतिप्रथा, दाइजो, सामाजिक बहिष्करण र छुवाछुतलाई अन्त्य गरेका छौँ”, राष्ट्रपति भण्डारीले भनिन् , “यो यथार्थ हो कि महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणबिना समाजमा न्याय र शान्तिसहितको समता स्थापित गर्ने विषय कल्पना पनि गर्न सकिँदैन भन्ने विषयलाई आत्मसात् गर्नैपर्छ ।”
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आफूलाई आमन्त्रण गरिनु नेपाली जनताको राजनीतिक सङ्घर्ष र बलिदानको सम्मान भएको बताउँदै उनले नेपालको द्वन्द्व, शान्तिपूर्ण राजनीतिमा रुपमान्तरण भई रुढिवादी पुराना सामाजिक संरचनाको अन्त्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको चासो भएको आफूले महसुस गरेको उल्लेख गरिन् ।
सन् २०३० सम्ममा विश्वका नेताले तय गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्यअन्तर्गत श्रमको सम्मानको सवाल सुहाउँदो समावेश गरिनु सन्तोषको विषय भएको बताउँदै उनले महिला समानता विषयमा पनि उचित पहिचानसहित सो लक्ष्य निर्धारण भएको धारणा व्यक्त गरिन् । रासस