
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध तथा माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो ।
बुधवार शुरू भएको प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा सभामुखसँग समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले विभाजनमा सभामुखले मतियारको भूमिका निर्वाह गरेको आरोप लगाए ।
त्यसपछि सभामुख सापकोटाले सर्वोच्चमा विचाराधीन विषयमा सदनमा छलफल नहुने भन्दै संविधानको धारा र संसद् नियमावलीको व्यवस्थातर्फ ध्यानाकर्षण गराए । सभामुखले जवाफ दिँदै गर्दा एमाले सांसदले नाराबाजी गर्दै वेल घेरेका थिए ।
त्यसपछि सभामुख सापकोटाको सुरक्षाका लागि थप दुईजना मार्सल सभामुखको आसन नजिक पुगेर सुरक्षा दिएका थिए ।
सामान्य अवस्थामा सभामुखको पछाडि एकजना मात्र मर्यादापालक उभिने गर्छन् ।
एमालेको विरोधपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
१५ मिनेटका लागि स्थगित गरिएको बैठक कतिबेला बस्ने टुंगो लागेको छैन ।
यस्तै राष्ट्रिय सभाको बैठक पनि आधा घण्टाका लागि स्थगित गरिएको छ ।