
मन्त्रिपरिषद् विस्तार र अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो । बिहीवार छलफल भए पनि कुनै सहमति जुट्न सकेको थिएन ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि बैठकमा सहभागी छन् ।
कांग्रेस र जसपा एमसीसीको पक्षमा देखिएका छन् भने माओवादी, समाजवादी र जनमोर्चा एमसीसीको विपक्षमा छन् ।
गठबन्धनमा सहमति जुट्न नसक्दा शपथ लिएको झण्डै २ महिनासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आजै मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो ।