
तेह्रथुम पावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।
शुक्रबार ७४ हजार ४०० जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाएको छ । यससँगै आईपीओमा आवेदन गरेका ८ हजार ८२० वटा आवेदन रद्ध भएको छ ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म खुला गरेको शेयरमा २३ लाख ५५ हजार ४४७ आवेदन परेको थियो । त्यसमध्ये ८ हजार ८२० वटा आवेदन रद्ध भएको हो । २३ लाख ४६ हजार ६२७ वटा आवेदन योग्य भएका थिए ।
आईपीओ खरीदका लागि सर्वसाधारणबाट माग भएको तुलनामा ३९.३४ गुणा बढी २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि आवेदन परेको थियो । त्यसमध्ये १ लाख ८ हजार ७६० कित्ताको आवेदन रद्ध भयो भने २ करोड ९२ लाख ६९ हजार ६४० कित्ताको माग सदर भएको थियो ।
कुल आवेदकमध्ये २२ लाख ८१ हजार ०४७ ( कुल सदर आवेदकमध्ये २२ लाख ७२ हजार २२७ जना) को हात खाली भएको छ । यो संख्या कुल आवेदकको ९६.८४ प्रतिशत (कुल सदर आवेदकको ९६.४७ प्रतिशत) हुन आउँछ । यस आधारमा हेर्दा कुल आवेदकको ३.१६ प्रतिशत र कुल सदर आवेदकको ३.५३ प्रतिशतले मात्र शेयर पाएका छन् ।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ७ लाख ४४ हजार कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट माग भएको थियो ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना निमार्ण गरेको छ । कम्पनीले तेह्रथुम जिल्लामा नै अर्को २ मेगावाटको आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।
कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रहेको छ । आईपिओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुगेको छ ।