अमेरिका र चीनबीच तनाव चलिरहेको अवस्थामा सात महिनामा पहिलोपटक जो बाइडन र सी चिनपिङबीच फोनमा कुराकानी भएको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस र चीनको सरकारी सञ्चारमाध्यमले यसको पुष्टि गरेको छ ।
ह्वाइट हाउसका अनुसार, कुराकानी डेढ घन्टा चलेको थियो । अमेरिका र चीनबीच सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा चर्चा भएको छ । जनवरी महिनामा बाइडनले सत्ता सम्हालेपछि सीसँग दोस्रोपटक फोनमा कुराकानी गरेका हुन् ।
चिनियाँ मिडियाले सी र बाइडनबीच खुला हृदयका साथ विस्तृत छलफल भएको भनी लेखेको छ । दुवै नेताले भविष्यमा सम्पर्क कायम राख्ने विषयमा सहमति जुटेको छ ।
ह्वाइट हाउसका एक अधिकारीले बाइडन र सीबीचको सीधा कुराकानीबाट फाइदा हुने आशा गरेको बताए । मानवअधिकारको मुद्दाबाट अमेरिका पछि हट्ने कुरै नभएको बाइडनले बताएका छन् ।