
नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन् । उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरु सरकारसँग माग गरेका हुन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले ८९ बर्षको उमेर पुग्दा पनि जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न माग गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताए । अमेरिकी साम्राज्यवाद कमजोर भएमात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले गोञ्जालो संसारका क्रान्तिकारीहरुको प्रेरणाको स्रोत भएको बताउँदै रिहाईको लागि पहल गर्नु दायित्व भएको बताए ।
नेकपा (मसाल)का प्रवक्ता रामप्रसाद पुरीले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था पुगेकैले पेरुको प्रतिक्रियावादी सरकारले गोञ्जालोलाई रिहाई नगरेको बताए । उनले गोञ्जालोको जीवर रक्षा गर्नु दायित्व भएको बताए ।
कार्यक्रममा जनवादी गायक तथा रिहाईको लागि गीत गाउँदै आएका जीवन शर्माले विश्व कम्युनिस्ट आन्दोलको भविश्यसँग गोञ्जालोको रिहाई जोडिएको बताए ।