
नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट पुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली आज हुम्ला पुगेको हो ।
गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।
यही भदौ १७ गते मन्त्रिपरिषद्ले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती गठन गरेको थियो ।