
सरकारले मोटरसाइकलको अन्त:शुल्क बढाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन्।
सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ।
यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो।
यस्तै भन्सार शीर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बढेको छ। अब यो शीर्षकमा ६० प्रतिशत अन्तःशुल्क लाग्नेछ।
यो शीर्षकमा यसअघि ५० प्रतिशत कर लाग्दै आएको थियो। भन्सार शीर्षक नम्बर ८७११.३०.९० मा आयात हुने अन्य शीर्षकमा पनि २० प्रतिशत अन्तःशुल्क बढाइएको छ। यो शीर्षकमा ६० प्रतिशत अन्त:शुल्क लाग्दै आएको थियो।
भन्सार शीर्षक नम्बर ८७११.४०.०० मा आयात हुने ५ सय देखी ८ सय सीसी क्षमतासम्म ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ। ८ सय सिसीभन्दा बढी सीसीको मोटरसाइकलमा १ सय प्रतिशत अन्तःशुल्क लिइने छ।
सरकारको यो निर्णयले यी सेग्मेन्टका मोटरसाइकलहरुको मूल्य बढ्ने भएको छ ।
यसको सबैभन्दा बढी प्रभाव १५० सीसीका मोटरसाइकलमा पर्नेछ । यसले गर्दा १५० सीसीको मोटरसाइकलको मूल्य १५ देखि १८ हजार रुपैयाँका दरले बढ्नेछ ।
एसेम्ब्लीलाई प्रोत्साहन स्वरुप अन्तशुल्कमा दिँदै आएको छुट २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउनु स्वागतयोग्य भएपनि मूल्य वृद्धिले भने उपभोक्तालाई फाइदा नहुने व्यवसायीहरूले बताउन थालेका छन् ।