
२ नम्बर प्रदेशको प्रदेशसभा बैठक २ महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै निश्चित छैन ।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनका कारण प्रदेश सभाको बैठक अनिश्चित बनेको हो ।
गत असारमा सरकारले प्रदेश सभाबाट बजेट पारित गरेपछि छैटौं अधिवेशन अन्त्य गरिएको थियो । सातौं अधिवेशनको हालसम्म कुनै सुरसार छैन ।
लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसद्माथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए ।
‘दशैंअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ,’ उनले भने ।
प्रदेशसभाका विभिन्न विषयगत संसदीय समिति समेत अहिले सभापतिविहीन छन् । सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिविहीन छन् । अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । यसअघि ५ दल थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ दलका रूपमा अस्तित्वमा आएका छन् ।
जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन् ।
प्रदेश सभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
संघीय सरकारमा बनेको समीकरणजस्तै २ नम्बर प्रदेशमा पनि बनाइने दलहरूबीच सहमति भएको छ । अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् ।