
अमेरिकाका राष्ट्रपति जो बाइडनले क्वाड शिखर सम्मेलनको आयोजना गर्न लागेकोमा चीनले मंगलवार त्यसको आलोचना गरेको छ ।
अन्य देशलाई तारो बनाउनका लागि गठन गरिएका गुटहरू लोकप्रिय नहुने र तिनको भविष्य नभएको चीनको भनाइ छ ।
बाइडनले सेप्टेम्बर २४ मा क्वाड सदस्यहरूको भौतिक उपस्थितिमा शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानका प्रधानमन्त्री योशिहिदे सुगा सहभागी हुनेछन् ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले देशहरूको सहकार्यले तेस्रो पक्षलाई तारो बनाउन नहुने बताए ।
‘सम्बन्धित मुलुकहरूले पुरानो भइसकेको शीतयुद्धकालीन मानसिकता तथा साँघुरो सोचको भूराजनीतिक शत्रुताको अवधारणा त्याग्नुपर्ने अनि उक्त क्षेत्रका मानिसको आकांक्षालाई सम्मान गर्नुपर्ने हुन्छ । क्षेत्रीय एक्यबद्धता र सहकार्यलाई टेवा पुग्ने काम उनीहरूले गर्नुपर्छ,’ चाओले बताए ।