०२ असार २०८३, मंगलबार

दक्षिण सुडानबाट कालिध्वज गणको अन्तिम डप्फा नेपाल फर्किंदै

दक्षिण सुडानबाट कालिध्वज गणको अन्तिम डप्फा नेपाल फर्किंदै

दक्षिण सुडानमा रहेको नेपाली सेनाको गण अदलीबदली भएको छ । 

दक्षिण सुडानमा गणपति सुजनबहादुर मल्लको नेतृत्वमा रहेको कालिध्वज गणलाई प्रमुख सेनानी शिखर जबराको नेतृत्वको श्रीजंग गणले बदली गरेको हो । 

श्रीजंग गणको ७०० जनाको बटालियन दक्षिण सुडानको रुम्बेकमा रहेको संयुक्त राष्ट्र संघीय मिसनको कार्यालय रहेको क्याम्पमा बस्ने भएको छ । 

कालिध्वज गणको पहिलो र दोस्रो टोली यसअघि नै फर्किसकेकाले २३३ जनाको तेस्रो तथा अन्तिम टोली आफ्नो कार्यकाल सकेर बुधवार बिहान साढे ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

नेपालबाट मंगलवार बिहान २३४ जनाको श्रीजंग गणको टोली दक्षिण सुडान पुगेको थियो । 

१ वर्षसम्म शान्ति स्थापनार्थ खटिएको कालिध्वज गणले आफ्नो सबै जिम्मेवारी र दायित्व श्रीजंग गणलाई सुम्पेर नेपाल फर्किन लागेको छ । 

शान्ति स्थापनार्थ खटिने नेपाली सेनाले संयुक्त राष्ट्रसंघको कार्यालय, कर्मचारी, भवन, एअरपोर्टमा सुरक्षा दिने तथा संयुक्त राष्ट्रसंघका कर्मचारीले सञ्चालन गर्ने मिसन, कार्यक्रम, अनुसन्धान, तालिम लगायतको कार्यमा सुरक्षा प्रदान गर्ने र शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको कार्यविधि एवं नीति बमोजिम खटिई शान्ति स्थापना सम्बन्धी कार्यमा योगदान गर्दै आएको छ ।  

गणपति मल्लको कमाण्डले अन्तर्जातीय द्वन्द्वलाई रोक्न उत्कृष्ट रक्षात्मक कार्य गरेको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघका महासचिवबाट लिखित प्रशंसापत्र समेत प्राप्त गरेको थियो । 

यसअघि ४६४ जना सैनिक फर्किसकेका छन् । कालिध्वज गणले सफलतापूर्वक शान्ति स्थापनार्थ कार्य सकेर फर्केपछि गणको स्थानमा ७०० जनाको संख्यामा रहेको नेपाली सेनाको श्रीजंग गणले शान्ति सेनाको रूपमा कार्य गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्