
कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ ।
नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो । उनीहरूलाई अनिवार्यरूपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ ।
कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान शुरू गरिएको हो । सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईंको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ ।
त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन् ।
‘नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्,’ उनले भने, ‘पटक–पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ ।’
अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ ।
मास्क प्रयोग नगर्दा कोरोना संक्रमण फैलिने खतरा कायमै छ । शहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको संख्या बढ्दै गए पनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन् । मास्क खोई ? अभियान शुरू गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार बिस्तारै मास्क प्रयोग गर्नेको संख्या बढिरहेको छ । ‘मास्क लगाउनुपर्छ भन्ने चेतना बढ्दै गएको छ,’ उनले भने ।
प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउँछन् ।
श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन् । धनगढी बजारमा भेटिएका रमेश थापा भन्छन्, ‘भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन ।’
तपाईंको मास्क खोई ? अभियानअन्तर्गत प्रहरीले मंगलवारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ । मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ । मंगलवारसम्म १ हजार ४०० भन्दा बढीलाई १०० रुपैयाँका दरले जरिवाना तिर्न लगाएको छ ।
सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल संक्रमण दर घट्दै गएको छ ।