
गत वर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढ वर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे ।
विक्रम संवत् २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उनले पहिले आफन्तको मागेर र पछि आफैं किनेर मोटरसाइकल चलाइरहेका छन् ।
मोटरसाइकल चलाएको महिनौंसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाएनन् । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटक–पटक प्रयास गरेपनि भर्न नसकेको उनले बताए ।
उनले फागुन महिनामा आवेदन भरेका थिए । असार महिनाको अन्तिम हप्तामा पालो आउने भनेपछि उनले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गरे । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्यो र उनको परीक्षाको मिति धकेलियो ।
साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निराश बनाएको न्यौपानेले बताए । यो डेढ वर्षमा उनले १ पटक ट्राफिक प्रहरीको जाँचमा परेर १ हजार रुपैयाँ जरिवाना तिरेका थिए ।
आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उनको दुखेसो छ । उनी सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्री सडकमा हिँड्ने गरेका छन् ।
उनले भने, ‘आफूसँग अनुमतिपत्र नहुँदा गाह्रो भएको छ ।’ एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । एकातिर सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।
पटक–पटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौं उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् ।
सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्डको पालना नगराउँदा निजी सवारी साधन चढ्नु बाध्यता भएको उपत्यकावासी बताउँछन् । सवारीसाधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ ।
सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ । केही वर्ष पहिलेसम्म ट्राफिक प्रहरीले मुख्य मात्रै होइन सहायक सडकमा जाँच गर्ने गरेकोमा डेढवर्ष पहिले कोभिड देखिएपनि जाँच खासै भएको पाइँदैन ।
ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशरभमा सङ्क्रमण बढीरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए । अहिले पुनः जाँच बढाउने गरी योजना बनाइएको छ । उनले भने, ‘कोभिड संक्रमण बढिरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउने लगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौं अब पुनः जाँच बढाइने छ ।’
अहिले महाशाखाले दैनिक ६०–८० जनासम्मलाई अनुमतिपत्र नभई सवारीसाधन चलाएको भनी कारवाही गरिरहेको छ । ट्राफिक प्रहरीले सबैलाई रोकेर जाँच नगरेपनि चालकले सवारीसाधन चलाएको हेरेर टाढाबाट पनि उसँग कागजात छछैन थाहा हुने उनको भनाइ छ । उनले भने, ‘चोकचोकमा खटिएका ट्राफिक प्रहरीले शंका लाग्दा जाँच गरिरहेका छन् ।’
चालक अनुमतिपत्र नभइ चलाउनेको संख्या बढिरहे पनि उपत्यकामा सवारी दुर्घटना नबढेको तथ्यांकले देखाएको छ । कोभिडका कारण अझै पनि सडकमा आवतजावत कम हुँदा सवारी चाप कम भएकाले दुर्घटना कम भएको प्रहरी उपरीक्षक दासको भनाइ छ ।
सरकारले ६ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरू गरेदेखि नै यसमा समस्या देखिएको छ । एकान्तकुनास्थित कार्यालयबाट सेवा शुरू गरिएकोमा यसलाई अरु कार्यालयमा विस्तार गरेपनि समस्या बढ्न थालेको थियो । त्यसबेला अनुमतिपत्र छाप्ने उपकरणको क्षमताभन्दा बढी सङ्ख्यामा छाप्नु पर्दा सेवाग्राहीले परीक्षा पास गरेको वा नबीकरण गरेको लामो समयसम्म पाएका थिएनन् ।
उपकरणको क्षमताका कारण भएको ढिलाइ हटाउन सरकारले २ वर्ष पहिले नै ठूलो संख्यामा अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिद गरेको थियो । भारतीय कम्पनीसँग एकै पटकमा उपकरण र १० लाख कार्ड खरिद गरेपछि केही समय सजिलो हुँदै थियो । त्यो कार्ड सकिएपछि पुनः समस्या भएको छ ।
कार्ड अभावकै कारणले तत्काल नयाँ अनुमतिपत्रका लागि आवेदन नखुलाइने विभागले जनाएको छ । एकाथरी सेवाग्राहीले फारम भर्न पाएका छैनन् भने अर्काथरीले फारम भरेर पनि परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षा पास गरेर वा नवीरकण गरेर अनुमतिपत्र नपाउनेको संख्या झण्डै ७ लाख पुगिसकेको छ । अहिले तत्काल नआउने देखिएकाले त्यति बेलासम्म नयाँ आवेदन नखुलाइने विभागका प्रवक्ता. डा लोकनाथ भुसालले बताए । उनका अनुसार दशैं पहिलेसम्म नयाँँका लागि आवेदन खुलाउन नसकिने देखिएको छ ।
उनले भने, ‘नयाँ आउने कार्ड मास प्रिन्टरमा छापिएमा पुनः खुलाउन सकिनेछ ।’ – सञ्चिता घिमिरे/रासस