काठमाडौं, ३ असार– राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुकै आग्रहमा प्रदेश नम्बर २ को चुनाव सारिए पनि चुनाव विथोल्न घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाका नेताहरुलाई छलफलका लागि आफ्नो निजी निवास बुढानिलकण्ठ बोलाएका छन् ।
देउवाले राजपा नेताहरुलाई शनिबार मध्याह्न बुढानिलकण्ठ बोलाएका हुन् । छलफलमा प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गर्दा पनि आन्दोलन फिर्ता नलिएको विषयमा राजपाका नेताहरुसँग कुराकानी हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
राजपाले चुनाव विथोल्ने आन्दोलन थोलेपछि सरकारले २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने गरी असोज २ गतेका लागि सार्ने निर्णय गरेको थियो । सरकारले चुनाव सार्ने निर्णय गर्दा पनि राजपा नेताहरुले भने आन्दोलन फिर्ता लिएका छैनन् ।
संविधान संशोधन लगायत आफूहरुका माग पूरा नहुन्जेल आन्दोलन फिर्ता नहुने राजपाका नेताहरुको भनाइ छ ।