काठमाडौं, ३ असार– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पत्र लेखेर चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न सचेत गराएको छ ।
आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले शनिवार एक विज्ञप्ती जारी गर्दै चुनावी गतिविधिमा बालबालिकाहरुको प्रयोग नगर्न पत्र लेखेर सचेत गराइएको जनाएका हुन् ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दल एवं मातहतका संगठनहरू तथा भातृसंगठनबाट राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग भई आचारसंहिता उल्लघंन भएको सन्दर्भमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम पार्टी नेपाल, तथा लोकतान्त्रिक फोरम नेपाललाई पत्र लेखेर सचेत गराएको हो ।
‘राजनीतिक दलहरू एवं मातहतका संगठनहरू तथा भातृ संगठनहरूबाट विभिन्न राजनीतिक गतिविधिहरूमा बालबालिकाहरूको प्रयोग भएका आचार संहिता उल्लघंनका सूचनाहरू आयोगमा प्राप्त भएको हुँदा उल्लिखित तथ्यलाई मध्यनजर गर्दै केन्द्रीय कार्यालय र मातहतका जिल्लास्थित राजनीतिक संगठन तथा भातृ संगठनहरूलाई राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन लगायतका आचार संहिताको पूर्ण पालना गर्न/गराउन अनुरोध गरिएको छ,’ निर्वाचन आयोगले दलहरुलाई लेखेको पत्रमा भनिएको छ ।
यस्तै चुनावी प्रचारमा बालबालिकाको प्रयोग भएको भन्ने सूचना प्राप्त भएको भन्दै आयोगले मूख्य निर्वाचन आयोगको कार्यालयलाई सो सम्बन्धमा छानविन गरी कानूनबमोजिम कारबाही गर्न पनि निर्देशन दिएको छ ।