०२ असार २०८३, मंगलबार

दीगो विकास लक्ष्यका ऊर्जासम्बन्धी अवधारणाको कार्यान्वयन प्रारम्भ

असोज ४, २०७८
दीगो विकास लक्ष्यका ऊर्जासम्बन्धी अवधारणाको कार्यान्वयन प्रारम्भ

सन् २०३० सम्म सबैलाई सुलभ रूपमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकारले दीगो विकास लक्ष्यमा समेटिएका ऊर्जासम्बन्धी अवधारणाको कार्यान्वयन शुरू गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जासम्बन्धी दीगो विकासका लक्ष्य (एसडीजी–७) प्राप्तिको मार्गचित्रको सोमवार शुभारम्भ गरे ।

मार्गचित्रमा सन् २०३० सम्म सबैलाई सस्तो र स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने, नवीकरणीय ऊर्जाको मात्रामा वृद्धि गर्ने तथा ऊर्जा दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ । 

दीगो विकासका लागि स्वच्छ एवम् नवीकरणीय ऊर्जाको पहुँच र प्रभावलाई वृद्धि गर्ने, खनिज तेलको मात्रामा क्रमशः कम गर्दै जाने प्रयास समेत त्यसमा समेटिएको छ । 

ऊर्जा मन्त्री भुसालले दीगो विकास लक्ष्य प्राप्तिका लागि विकास साझेदारहरूको सहकार्य, सहयोग  एवम् समन्वयका साथ काम गर्ने इच्छाशक्ति आवश्यक रहेकामा जोड दिइन् ।

ऊर्जा क्षेत्रमा नेपालले धेरै प्रयास गरेको र अझै गर्न बाँकी रहेको उल्लेख गर्दै मन्त्री भुसालले भने, ‘सरकारले नेपाल ऊर्जा दक्षता रणनीति २०१८ स्वीकृत गरी कार्यान्वयमा ल्याइसकेको छ ।’

खाना पकाउनका लागि एलपीजि विस्थापन गर्दै विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिइएको छ भने विद्युतीय सवारी साधनको प्रर्वद्धनमा उत्तिकै प्रयत्नशील रहेको छ । 

सार्वजनिक यातायातका लागि विद्युतीय बस सञ्चालनमा ल्याउने  तयारी गरिएको बताउँदै उनले भनिन्, ‘भर्खर १५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ र ५० भन्दा बढी त्यस्ता स्टेशनहरू निर्माण हुँदैछन् ।’

निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा उत्तिकै ध्यान दिएको छ ।

व्यवसायीले पनि विद्युतीय सवारीको आयात र बिक्री वितरणमा उत्तिकै महत्त्व दिएका छन् । नेपाल विद्युत् प्राधिकरणले ७ वटै प्रदेश समेट्ने गरी ५० चार्जिङ स्टेशन निर्माणको काम शुरू गरिसकेको छ । सवारीसाधन आयात गर्ने व्यवसायीले पनि विद्युतीय सवारीसाधन आयातलाई बढावा दिएका छन् । 

सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि नीतिगत एवम् कार्यक्रमिक व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमा समेत अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि विभिन्न योजना अगाडि सारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्