
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमाले विभाजनमा भूमिका खेलेको भन्दै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको राजीनामा माग गरेको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले एमालेले पदमुक्त गर्न भनेका १४ सांसदलाई कारवाही नगरेकाले सभामुखले राजीनामा गर्नुपर्ने बताएका हुन् ।
‘सभामुखको भूमिकाका कारण हामीले राष्ट्रिय सभामा विरोध गरिरहेका छौं, हामीले निकास भनेका छौं, त्यो भनेको सभामुखको राजीनामा हो,’ श्रेष्ठले भने ।
एमालेले कारवाही गरेका १४ सांसदलाई सहभागी गराएर प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न नमिल्ने भन्दै उनले सभामुखको राजीनामा माग गरे । त्यसपछि एमाले सांसदहरू उभिएर विरोध गरेका थिए ।
एमालेको विरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
राष्ट्रिय सभाले विनियोजन विधेयक स्वीकृत गरेको छ । अर्को बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ ।