
सामान्यतया बिहे भएपछि महिला गर्भवती हुन्छन् र कम्तिमा ९ महिना भएपछि मात्रै बच्चा जन्मिन्छ । तर बेलायतमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ बिहे हुनुभन्दा ३ दिनअघि नै बच्चा जन्मिएको छ ।
आमा बन्ने सपना देख्दै ४० वर्षीय लिसा बिहेको तयारी गरिरहेकी थिइन् । बूढी भइसकेकाले बिहेपछि पनि आमा बन्नेमा उनलाई शंका थियो ।
तर बिहे हुनुभन्दा ३ दिनअघि अचम्म भयो । उनलाई अचानक प्रसव पीडा भयो, तत्काल अस्पताल पुर्याउँदा बच्चा जन्मियो ।
उनले भनिन्, ‘मलाई गर्भावस्थामा देखिने कुनै सामान्य लक्षण पनि देखिएनन् । शरीरको तौल बढ्नुको सट्टा घटेको थियो ।’
२ महिनासम्म महिनावारी नभएपछि उनले गर्भ रहे/नरहेको जाँच गराएकी थिइन् तर रिपोर्ट नेगेटिभ आएको थियो । तब उनले महिनावारी सुक्ने समय भएको अनुमान गरेकी थिइन् । यसबीच उनले ३ पटक गर्भ रहे/नरहेको जाँच गराइन् तर गर्भ रहेको यकिन भएन ।
लिसाको बिहे उनका साथी जेसनसँग हुँदैथियो । बिहेको ३ दिनअघि लिसा रगतले लतपतिएपछि जेसनले नै उनलाई अस्पताल पुर्याए । अस्पताल पुर्याएर बच्चा जन्मिएपछि जेसन पनि चकित भएका थिए ।
बच्चा परिपक्व नहुँदै जन्मिएकाले चिकित्सकको निगरानीमा राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।