
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन् ।
सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए ।
अनेरास्ववियूको नयाँ नेतृत्वको शपथ ग्रहणका लागि मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको दोहोर्याए ।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे ।
‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरूले भण्डाफोर गर्नुपर्छ,’ उनले भने, ‘जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन ।’