
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफू नेतृत्वमा पार्टी गठन र पार्टीको वर्तमान अवस्थाबारे विश्लेषण गरेका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै केपी ओलीबाट गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयासलाई समेत परास्त गर्दै आफूहरु ऐतिहासिक विद्रोह सफल भएको उल्लेख गरेका छन् । उनले स्थानीय तहमा उल्लेख्य जनप्रतिनिधिले उल्लेख्य आफ्नो पार्टी रोजेको भएपनि संख्या खुलाएका छैनन् ।
नेपालको पार्टी गठन र वर्तमान अवस्थाबारे विश्लेषण यस्तो छ :
नेकपा (एमाले) मा केपी ओलीले हुर्काएको गुटबन्दी, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहंकारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गरेर हामीले २०७८ भाद्र २ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन गरी २०७८ भाद्र ९ गते निर्वाचन आयोगबाट प्रमाण पत्र प्राप्त गरेका छौँ । केपी ओली गुटबाट गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयासलाई समेत परास्त गर्दै ऐतिहासिक विद्रोह सफल भएको छ र नेकपा (एकीकृत समाजवादी) विधिवत् दर्ता भएको छ । निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुका साथै संघीय संसद सचिवालयमा पत्र पठाएपश्चात् हामीले हाम्रो पार्टीको संघीय संसदीय दल गठन गरेका छौँ । प्रतिनिधि सभामा २४ र राष्ट्रिय सभामा ८ गरी जम्मा ३२ जना संघीय संसद सदस्य रहेको हाम्रो पार्टी संघीय संसदमा चौथो दल बनेको छ । हाम्रो संसदीय दलको नेतामा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपाललाई र राष्ट्रिय सभाको दल नेतामा स्थायी कमिटी सदस्य कमरेड डा.बेदुराम भुसाललाई चयन गरिएको छ ।
निर्वाचन आयोगले हाम्रो पार्टी दर्ता गरिसकेपछि साविक नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जन प्रतिनिधिहरूलाई दल रोज्नका निम्ति २०७८ भदौ १५ गतेदेखि २२ गतेसम्मको समय निर्धारण गरेको थियो । प्रदेश सभा सदस्यहरूले प्रदेश राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा र स्थानीय तहका जन प्रतिनिधिहरूले जिल्ला सदरमुकाम स्थित निर्वाचन आयोगको कार्यालयमा नागरिकताको प्रमाण पत्र र स्थानीय तहको पदमा निर्वाचित भएको प्रमाण पत्रसहित आफै उपस्थित भएर सनाखत गर्नु पर्ने थियो । तोकिएको समयावधिमा सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भई सुदुर पश्चिम प्रदेशका १४, वागमती प्रदेशका १३, प्रदेश २ का १३, प्रदेश १ का १०, कर्णाली प्रदेशका ३ र लुम्विनी प्रदेशका १ प्रदेश सभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) दलमा आबद्ध हुन सनाखत गर्नुभएको छ । केपी ओलीको अन्यायपूर्ण कार्बाहीमा पर्नुभएका कर्णाली प्रदेशका चार जना सदस्यहरूले पनि सनाखतको लागि प्रदेश निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । त्यसरी सनाखत भइसकेपछि निर्वाचन आयोगले सम्बन्धित प्रदेश सभा सचिवालयमा पत्र पठाई उपर्युक्त प्रदेश सभा सदस्यहरू नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएको जानकारी गराएपश्चात् सातमध्ये छओटा प्रदेशमा हाम्रो पार्टीका प्रदेश सभा दल गठन भएका छन् । हाम्रो पार्टी सुदुर पश्चिम प्रदेशमा पहिलो दल भएको छ भने प्रदेश २ मा समग्रमा चौथो तर केपी ओली गुटकोभन्दा ठूलो दल भएको छ । त्यसैगरी हाम्रो दल वागमती प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा चौथो र लुम्विनी प्रदेशमा पाँचौँ दल भएको छ । केपी ओलीले बिगत चुनाबमा एकलौटी ढङ्गले टिकट वितरण गरेको कारणले गण्डकी प्रदेशमा भने हाम्रो उपस्थिति हुन सकेन ।
पालिका तहमा कमिटी गठन गर्ने काम भैरहेको छ । पार्टी सम्बद्ध जनसङ्गठनहरू महिला, मजदुर युवा, विद्यार्थी, खेलकुद, र उत्पीडित जातीय सङ्गठनका केन्द्रीय कमिटी गठन भएका छन् र यी सङ्गठनका प्रदेश तथा स्थानीय कमिटी गठन गर्ने काम पनि भइरहेको छ । समाजवादी प्रेस सङ्गठन, नेपाल नामक नयाँ सङ्गठन पनि निर्माण भएको छ । यसरी हाम्रो पार्टी देशव्यापी र जनव्यापी रूपमा स्थापित हुँदै गएको छ ।