
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । झण्डै ७० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेप्दै आएका देउवाले अब भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा नारायण खड्कालाई मन्त्री बनाउने सहमति गरेको हो । उनी काँग्रेस केन्द्रीय सदस्य हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै जानुपर्ने भएपछि खड्कालाई मन्त्री बनाउने सहमति भएको हो । उनी परराष्ट्र मन्त्री बन्ने स्रोतको भनाइ छ ।
आजै बसेको मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्रीले टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय भएको थियो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक आधारमा नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय पनि गरेको थियो । मन्त्रिपरिषद् बैठक लगत्तै गठबन्धन बैठक बसेको थियो ।
गठबन्धन बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।