३१ जेठ २०८३, आइतबार

लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !

असोज ६, २०७८
लागूऔषध चरेस कारोबारको नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार !
तस्वीर सौजन्य : राजधानी दैनिक

लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो ।

ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ ।

उनीहरूले चकटी र डायरीसहितका विभिन्न किसिमका हस्तकलाका सामग्रीभित्र चरेस राखेर हस्तकलाको सामानको रूपमा विदेश पठाउने गरेको खुलेको हो ।

ब्युरोले अनुसन्धानका क्रममा उनीहरूले हस्तकलाको ती सामानमा प्रयोग गरेर चरेसलाई विदेश पठाउँदै आएको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

ब्युरोले गिरोहमा रहेर चरेस ओसारपसारमा संलग्न म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको ७ किलो ६ सय १४ ग्राम चरेश बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।

यसअघिसमेत उनीहरूले अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशमा पनि लागूऔषध ओसारपसार गर्दै आएको खुलेको ब्युरोले जनाएको छ ।

सेसे भने १९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । उनी यसअघि २०५४ सालमा खैरो हेरोइनसहित पक्राउ परेर २०७३ मा छुटेका थिए । पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्