
पार्टीमा सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसमा विवाद बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सल्लाह नगरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।
यसै विषयमा छलफल गर्न पौडेल पक्षले छुट्टै बैठक राखेको छ । महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
पदाधिकारी बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल गर्न बैठक राखिएको ती नेताले बताए । ‘पार्टीमा सल्लाह नै नगरी मन्त्री नियुक्त गरिएको र महाधिवेशनलगायतको विषयमा हामीले आन्तरिक छलफल गर्न लागेका हौं,’ पौडेल पक्षका एक नेताले लोकान्तरसँग भने । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो ३ बूढानीलकण्ठमा पदाधिकारीको बैठक राखेका छन् ।
यसअघि सत्ता गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए । संस्थापन इतरका सुजाता कोइराला र मीनेन्द्र रिजाल पनि परराष्ट्र मन्त्रीका आकांक्षी थिए ।