
सामान्य अवस्थामा बाख्राको दूधको खोजी हुँदैन, त्यसैले दूध बेच्ने प्रयोजनका लागि बाख्रापालन हुँदैन ।
तर यतिबेला भारतको गुडगावमा बाख्राको दूधको माग बढेको छ । कारण हो – भाइरल ज्वरोको प्रकोप ।
भाइरल ज्वरोका कारण बिरामीमा प्लेटलेट्स घटेपछि बाख्राको दूधबाट निको हुने भन्दै दूधको खोजी भइरहेको छ । यतिबेला भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।
आयुर्वेद चिकित्सकले बाख्राको दूधबाट शरीरलाई फाइदा पुग्ने सुझाव दिने गरेपनि एलोपेथिक डाक्टरले भने बाख्राको दूधबाट प्लेटलेट्स बढ्ने कुनै वैज्ञानिक प्रमाण नरहेको तर्क गर्छन् । डाक्टरको तर्क जेसुकै भएपनि यतिबेला बिरामीका आफन्तले बाख्राको दूध खोज्न थालेपछि ‘अमृत’ समान भएको छ ।
बाख्राको दूध र मेवाको पातको प्रयोग प्रभावकारी हुने स्थानीय बताउँछन् । गुडगाव सेक्टर–१२ का अरविन्दले सामान्य बेला ५०–६० रुपैयाँमा पाइने बाख्राको दूध यतिबेला १ हजार ६०० रुपैयाँमा पनि पाउन मुस्किल रहेको बताए ।
बाख्राको दूधको माग धेरै हुँदा मूल्य बढेको र गाउँघरबाट खोजेर ल्याउनु परिरहेको उनले बताए ।