नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पहिलो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज टुंगो लगाउनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने तय भएको तामाङले बताए ।
बैठक असोज ८ र ९ गरी २ दिने चल्ने बताइएको छ । यसअघि एमाले स्थायी कमिटी बैठकले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा एमाले विभाजनमा साथ नदिएर फर्किएका नेताहरूले असन्तुष्टि राखेका छन् । अध्यक्ष ओलीले त्यसबारे केन्द्रीय कमिटी र त्यसपछिको स्थायी कमिटी बैठकमा छलफल हुने बताएका छन् ।
एमालेले असोजको १५–१७ गतेसम्म प्रथम विधान महाधिवेशन बोलाएको छ । केन्द्रीय कमिटीले पारित गरेको दस्तावेज विधान महाधिवेशनमा प्रस्तुत हुने एमाले नेताहरूले बताएका छन् ।