
नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा हेरफेर गरेर युवा नेता राजेन्द्र राईलाई सचिव बनाइएको छ ।
यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले प्रस्ताव गरेको पदाधिकारीमा राईलाई नसमेटेको भन्दै केन्द्रीय कमिटीमा आलोचना भएको थियो ।
यसअघि सचिवमा प्रस्ताव गरिएका केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाएर राईलाई सचिव बनाइएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकले नेता मुकुन्द न्यौपानेलाई तेस्रो वरीयतामा राख्ने निर्णय गरेको छ । पार्टी अध्यक्षपछि वरिष्ठ नेतामा झलनाथ खनाल छन् । त्यसपछिको वरियता न्यौपानेलाई दिइएको छ ।
यसअघि केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।
केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाएपछि अब एकीकृत समाजवादीका उपाध्यक्षको संख्या ५ पुगेको छ ।
राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, जयन्ती राई र केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ ।
त्यसैगरी वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिवमा प्रस्ताव गरिएको छ ।
एकीकृत समाजवादीका सचिव भएका राई भोजपुरका हुन् ।
उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । नेकपा एस प्रदेश १ का संसदीय दलका नेता राई मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।