
नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ साउन मसान्तमा रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको छ ।
२०७८ साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ ।
तालिका : नेपाल राष्ट्र बैक
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५१ ऋणीको रु.३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा रु.१ अर्ब स्वीकृत भएको छ ।