
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मा नीति, विधिलाई ध्यान नदिएर सुमुसुमु अघि बढेको टिप्पणी गरेका छन् ।
एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले बालीभित्र भैंसी हिँडेजस्तो अर्थमन्त्री सुमुसुमु अघि बढेको आरोप लगाएका हुन् ।
सत्ता सञ्चालकहरूले नीति र विधिलाई ध्यान नदिएको उल्लेख गर्दै भने, ‘कि अहिलेको अर्थमन्त्री जस्तो हुनुपर्यो । नीति न विधि सुमुसुमु...। भैंसी हिँड्छ नि, बालीभित्र सुमुसुमु । किसानहरूलाई अलि बढी थाहा होला । त्यसैगरी सुमुसुमु हिँडेपछि...।’
अर्को प्रसङ्गमा ओलीले अहिलेका अर्थमन्त्री जनमैत्री अस्पतालका लागि विभिन्न बैंकबाट ३३ करोड ऋण लिएको, तर अहिलेसम्म नतिरेको आरोप लगाए ।
‘मैत्री हस्पिटल भन्ने थियो । ३ बैंकबाट जबरजस्ती ३३ करोड ऋण लिएका थिए । अहिलेसम्म बैंक जिल खाएका छन् । खोज्यो भने ऋण लिने मान्छे भेटिन्छ, बोल्न पनि सक्दैनन् । भन्न पनि सक्दैनन् । तिनीहरू पावरफूल छन् । बोल्यो भने टोक्दिछन्, चिथोर्दिन्छन्’, ओलीले भने ।
ओलीले थपे, ‘बैंक ऋण उठाउन जान सक्दैनन् । अहिले पनि त्यत्तिकै होला त्यो ऋण । कुन–कुन बैंक हुन्, तिनीहरूले सुनेर बुझ्लान् । त्यसरी सरकार चलेको छ ।’