२२ जेठ २०८३, शुक्रबार

कांग्रेसको महाधिवेशन समयमै हुनेमा अन्योल छ : गगन थापा

कांग्रेसको महाधिवेशन समयमै हुनेमा अन्योल छ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताए ।

बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए ।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरूले पूरा नगरी जवाफदेहिता विनाको राजनीति गरिएको उनले टिप्पणी गरे । उनले भने, ‘महाधिवेशन बारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुराहरु टुंग्याउने कुरा तत्काल आजभोली गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारेपनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन । महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनको बारेमा एउटाले सारौं भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइ दिएपनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठकपनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जवाफदेहीता बिनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्त कालसम्म यसरी जानसक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए । संसदप्रति ओलीको घृणा सिंगो नेकपा एमालेमा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए । उनले भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभर संसदलाई हेप्नुभो । संसदलाई बेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुनःस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा एमालेलाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गर्नुभयो । एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्