
काठमाडौं महानगरपालिकाले आगामी आइतवारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ ।
विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय भएको हो ।
कामपा शिक्षा विभागको बुधवार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरूपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ । विद्यार्थी संख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ ।
कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्नेछ ।
शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । कामपाले औपचारिक जानकारी बिहीवार गरे पनि यसअघि नै विद्यार्थी संख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन् ।
लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैंतिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।