३० जेठ २०८३, शनिबार

शरीरमा १९ वर्षदेखि बमको छर्रा तर गरीबलाई माओवादीले पनि हेरेनन्

असोज ९, २०७८
शरीरमा १९ वर्षदेखि बमको छर्रा तर गरीबलाई माओवादीले पनि हेरेनन्

दैलेखको नौमुले गाउँपालिका–३ जैशीडाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् तर उनले भोगेको पीडासुन्दा जोकसैको आङै सिरिङ हुन्छ ।

२०५९ साउन २१ गते सुना र उनका श्रीमान् भैंसीलाई घाँस काट्न मकै बारीमा गएका थिए । नौमुले तत्कालीन माओवादीको हेडक्वाटर मानिन्थ्यो, उनीहरूको उपस्थिति बाक्लो थियो ।

माओवादीले जैशीडाँडामा कार्यक्रम गर्दै थिए । तत्कालीन शाही नेपाली सेनाको हेलिकप्टर पुग्यो र आकाशबाट अन्धाधुन्धा बम खसाल्न थाल्यो । घाँस काट्दै गरेका सुनाका दम्पती बम लागेर घाइते भए । मकै बारीमै ढले । माओवादीले तत्कालै उनीहरूको प्राथमिक उपचार गरे तर सञ्चो भएन ।

गाउँमा केही ऋण खोजेर थप उपचारको लागि सुनाका श्रीमान् र आफन्तले सुनालाई दैलेख सदरमुकाम हुँदै नेपालगञ्ज पुर्‍याए तर उनको उपचार हुन सकेन । कारण थियो सुना ७ महिने गर्भवती थिइन् ।

सामान्य औषधि उपचारपछि सुना घाइते शरीर लिएर गाउँ फर्किइन् । गाउँमै छोरी जन्माइन् । अहिले छोरी लालसरा सुनार १८ वर्षकी भइन् । सुना भने घाइते शरीरले बालबच्चाको हेरचाह गरिहेकी छन् ।

अझै पनि उनको शरीरमा रहेको बमको छर्रा निकालिएको छैन ।

घरको आर्थिक अवस्था कमजोर भएकाले पीडा खेप्नुबाहेक अर्को विकल्प नरहेको पीडित परिवारको दुखेसो छ । ‘हामी गरबि भयौं हामीलाई कसैले हेरेन । उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन,’ उनी भन्छिन् ‘१८ वर्षदेखि शरीरमा घाउ पालेर बसेकी छु ।’

गरीबका लागि सरकारसँग लडेको माओवादीले समेत बेवास्ता गरेको उनको गुनासो छ । ‘हामी तिमीहरूकै लागि लडेका हौं भन्दै आउने माओवादीले त हामीलाई बिर्सिए अरुको केको भर ?’ उनले भनिन् । यसो भनिरहँदा सुनाका आँखामा आँसु छचल्किएका थिए । आँसु पुछ्दै भनिन्, ‘छोरीको समस्या पनि उस्तै छ, औषधि खानुपर्छ पैसा छैन ।’

बमको छर्राका कारण अहिले लालसरा सुनार समेत बिरामी छन् । जन्मेको लामो समयसम्म उनी उभिन सकिनन् । रिंगटा लाग्छ । श्वासप्रश्वासमा समस्या छ । श्वास फेर्न गाह्रो हुन्छ तर लालसरा बाँच्न चाहन्छिन्, ‘बुढो बा र घाइते आमाको बिसन्चो शरीरको साथमा बसेर जेनतन भाइबहिनी पालेको छु ।’

छोरी लालसराले भनिन्, ‘मेरो र आमाको उपचार कसैले गरिदिए भाइबहिनीलाई पढाएर जागिर खुवाउने थिएँ ।’

अहिलेसम्म सुनाले कतैबाट पनि राहत रकम पाएकी छैनन् । उनलाई न शान्ति समितिले राहत दियो, न कुनै एनजीओ, आईएनजीओले । घाइते शरीरको पीडा सहँदै आफूले बालबच्चाका लागि बाध्यतावश काम गर्नुपरेको सुनाइन् । ‘काम नगरी सुखै छैन । दिउँसो काम गरेसी राति सुत्न सक्दिनँ,’ उनले भनिन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्