२० असार २०८३, शनिबार

बलेवामा नगर अस्पताल सञ्चालन

असोज ९, २०७८
बलेवामा नगर अस्पताल सञ्चालन
प्रतिकात्मक तस्वीर

पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएको बलेवा क्षेत्रमा नगर अस्पताल सञ्चालनमा आएको छ । 

बागलुङ नगरपालिकाका ३ वटा वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले नगर अस्पताल संचालनमा ल्याइएको हो । वडा नम्बर १३ बलेवाको पैयुँपाटामा साविकको पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी नगर अस्पताल बनाइएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरेका छन् ।

तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको १ वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अस्पताललाई थप स्तरवृद्धि गरिने भएको छ । नगर अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्थानीयमार्फत व्यवस्थापन भएको छ । अस्पतालको भवन बनाउन १८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । 

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको नगर प्रमुख पौडेलले बताए । नगर प्रमुख पौडेलले बलेवा शहरको रूपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताए ।

अस्पतालमा ३ जना मेडिकल अधिकृतसहित २७ जना विभिन्न तहका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेन्ट, अनमी, ल्याब र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी कार्यरत छन् । 

अस्पतालबाट बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १४ नारायणस्थान र वडा नम्बर १२ अमलाचौरका २७ हजार जनसंख्या लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

सरकारको सहयोग संगै देशविदेशमा रहेका गाउँलेहरूले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्न थालेको पौडेलले जानकारी दिए । नजिकै सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा तथा पोखरा सम्म जानुपर्ने बाध्यता छ ।

नगर अस्पताल बनेसँगै गाउँमा स्वास्थ्य सेवा पाइने अपेक्षा रहेको स्थानीय पदमबहादुर केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्