
एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको तीन वटा दस्तावेज माथि छलफलको लागि १० वटा समूह बनाएको छ ।
विधान अधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि छलफलको लागि प्रदेश र जनसंगठनलाई आधार बनाएर समूह बनाएको हो ।
विधान अधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई प्रदेशको आधारमा विभाजन गरेर समूह बनाइएको छ । हरेक समूहमा प्रदेश कमिटी, उक्त प्रदेशको जिल्ला कमिटी, उक्त प्रदेशको जनप्रतिनिधि र केन्द्रीय कमिटीले सोही प्रदेशलाई स्थायी ठेगाना बनाएर मनोनित गरेको प्रतिनिधि समूहका सदस्य रहेका छन ।
यसरी बनाइएको हरेक समूहमा करीब ६ सय जनाका दरले सदस्य रहेका छन । एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् ।
सबै समूहको सहजकर्ता र अध्यक्ष एमालेका सचिव एवं कार्यक्रम सञ्चालक प्रदीप ज्ञवालीले घोषणा गरेका थिए ।
समूहको अध्यक्ष र सहजकर्ता छनौट गर्न धेरै समय लाग्ने र छलफलको समय प्रभावित हुने भएकोले अध्यक्ष मण्डलले समूहको अध्यक्ष र सहजकर्ता तोकिदिएको उनले बताए । सबै समूहमा दुई जना सहकर्ता र एक जना अध्यक्ष तोकिएको छ ।
सबै समूहले असोज १६ गते विहान ८ बजेदेखि २ बजेसम्म विधान महाधिवेशनमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्ने र दुई बजेपछि अधिवेशनको पूर्णसत्र (प्लेनरी) शुरू हुने ज्ञवालीले जानकारी दिए ।
आज प्रस्तुत हुने भनिएको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगको प्रतिवेदन भोलीको प्लेनरीमा मात्रै प्रस्तुत हुने भएको छ ।
असोज १६ गते दिउँसो दुई बजेबाट शुरू हुने प्लेनरीमा समूहको निष्कर्ष प्रस्तुत हुने ज्ञवालीले बताए ।
आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको एमालेको विधान महाधिवेशन असोज १७ गते सम्पन्न हुनेछ ।