
भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ र २ भारतीयसहित ३ जनालाई शुक्रवार पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित पक्राउ गरेको थियो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसूरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
उनीहरू हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरू सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका ३ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।