
प्रत्येक ३/३ वर्षमा आयोजना हुने ‘तोरन्ल गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
थकाली सेवा समितिले स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा संकलन गरेर ‘तोरन्ल्ह गोल्डकप अक्षयकोष’ स्थापना गरेको हो ।
समितिका महासचिव रविन भट्टचनले थकाली समुदायको पहिचानसँग जोडिएको तारो खेल संरक्षण गर्न अक्षयकोष स्थापना गरिएको बताए ।
कोषमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष स्व. शरदकुमार गौचनका नाममा उनकी पत्नी आशाले १० लाख रुपैयाँ सहयोग गरिन् । ‘दशौं पटकसम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौं,’ भट्टचनले भने, ‘तोरन्ल गोल्डकपलाई निरन्तरता दिन अक्षयकोष बनाएका छौं ।’
कोषको ब्याज आउन थालेपछि प्रतियोगिताको पुरस्कार र व्यवस्थापन खर्च जुटाउन सहज हुने समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताए । प्रतियोगिताका विजेतालाई सुनको ५ तोलाको मेडल, रनिङ शिल्ड, कप र १ लाख रुपैयाँ नगद पुरस्कार व्यवस्था गरेका छन् ।
दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार पुरस्कार पाउने समितिले जनाएको छ । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
यसैबीच, म्याग्दीको बेनीमा शुक्रवारदेखि ११औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरू भएको छ । थकाली सेवा समितिको बेनी क्षेत्रको आतिथ्यतामा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँका १८ समूहका १२६ खेलाडी सहभागी छन् ।
एक समूहमा एक वैकल्पिकसहित ७ जनाले सहभागिता जनाउने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे ।
समितिले प्रत्येक ३/३ वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । विक्रम संवत् २०७७ सालमा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको जोखिमका कारण १ वर्षपछि धकेलिएको छ । सांसद तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए ।
थकाली सेवा समिति अन्तर्गतका क्षेत्रीय समितिले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भीर भएर सोच्न तथा सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।
मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाइ र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करीब डेढ सय मिटर वारिपारि राखिएका २ फल्याकमा तीर हान्ने गरिन्छ ।