
नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आइतवार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।
शनिवारको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यबारे कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले भने, ‘आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’
बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैंमा योग्य भएकाले उनीहरूबारे छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए ।
माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
विशेष समितिका रहने सदस्यबारे समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतवार पुनः बस्नेछ ।