३० असार २०८३, मंगलबार

समाजवादी क्रान्ति त भनिएको छ तर चित्र हाम्रो दिमागमा ‘क्लीयर’ छैन : प्रचण्ड

समाजवादी क्रान्ति त भनिएको छ तर चित्र हाम्रो दिमागमा ‘क्लीयर’ छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको स्पष्ट चित्र दिमागमा नभएको खुलासा गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको कार्यनीति, संगठन र आचरण पनि नभएको बताए ।

उनले भने, ‘पहिला–पहिला हामी क्रान्तिकारी कम्युनिस्ट संगठनमा त सानै, मान्छे त थोरै थियौं तर हाम्रो दिमागमा चित्र क्लीयर हुन्थ्यो, हाम्रो विचार यो हो, जाने बाटो यो हो भन्ने हुन्थ्यो, कन्फ्यूजन हुँदैन्थ्यो । थोरै भए पनि हामी ठूलो क्रान्ति ल्याउन सकिन्छ, ल्याउनुपर्छ, त्यसका निम्ति काम गर्नुपर्छ भन्ने स्पष्ट भिजन हुन्थ्यो र हामी अगाडि जान्थ्यो तर अहिले चाहिँ त्यस्तो छैन । अब समाजवादी क्रान्ति त भनिएको छ तर समाजवादी क्रान्ति भनेकै कस्तो खाले क्रान्ति हो त ? अहिले २१औं शताब्दीमा, विश्वमा भएको विकासको सम्पूर्ण सश्लेषणसहित नेपालमा समाजवादी क्रान्ति अब यसरी गर्ने हो भन्ने कुराको स्पष्ट चित्र तपाईं हामी सबैको दिमागमा क्लीयर छैन । कस्तो कस्तो भन्या जस्तो । अथवा अहिलेको हाम्रो समाजवादी क्रान्तिको रणनीति अन्तर्गत हामीले अपनाउनुपर्ने अर्थनीति के चाहिँ हो त ? तत्कालको कार्यनीतिक हिसाबले कस्तो अर्थतन्त्रबाट विकास गरेर राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने भन्ने कुराको स्पष्ट चित्र अनि हाम्रो राजनीतिक कार्यनीति कस्तो हुने ? हामीले समाजवादउन्मुख जनवाद भनेर तत्कालका लागि भन्या थ्यौ तर त्यो त्यति स्पष्ट छैन । अहिले पनि हामी राजनीतिक तात्कालिक कार्यनीति के हुने ? रणनीति के हो ? त्यो प्राप्त गर्न संगठनात्मक संरचना र आचारण कस्तो हुने ? आचरण अरुको जस्तै जस्तै भएपनि हुने, कार्यशैली अरुको जस्तै भएपनि हुने । कुरा मात्रै समाजवादी क्रान्ति गर्ने भनेर हुने हो कि ? समाजवादी क्रान्ति गर्ने भनेपछि समाजवादी क्रान्ति अनुकूलको मौलिक आचरण पनि हुनुपर्ने हो ? हामी सबै पदका निम्ति, प्रतिष्ठाका निम्ति, पैसाका निम्ति चाहिँ अरु जस्तै गर्ने हो भने त हामीलाई जनताले किन भरोसा गर्ने ? किन विश्वास गर्ने ? जनताले हामीलाई के आशा गर्ने ? उस्तै त छन् यिनीहरू । यिनीहरू पनि उही त्यही ठेक्कापट्टाको पछि दौड्या छन्, कमिसनका पछि दौड्याछन्, ठेकेदार खोज्दै हिँड्याछन् । पैसा पाए यिनले झन् बढी उ गर्छन् भन्ने पर्‍यो भने ... ।’

उनले नयाँ मन्त्रीलाई सकेसम्म आज सोमवारै शपथ ग्रहण गराइने बताए । भेलामा धेरै बोल्न समय अभाव भएको बताउँदै प्रचण्डले भने, ‘मलाई समयको दबाब पर्‍या छ, एकातिर क्याबिनेट सकेसम्म आजै शपथ ग्रहण गराउने भन्ने कोसिस अझै पनि छ, नभए पनि आज टुंग्याउन भन्ने भएको हुनाले म छिटो जानुपर्ने अवस्था छ ।’

कम्युनिस्ट आन्दोलन विरोधी गठबन्धनविरुद्ध संघर्ष गर्न नयाँ गठबन्धन बनाइएको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘नयाँ गठबन्धन, त्यसो उद्देश्य गणतान्त्रिक संविधानको रक्षा गर्नु, लोकतन्त्रको रक्षा गर्नु, राष्ट्रियताको रक्षा र स्वाधिनताको सुदृढीकरण गर्नु हो । त्यो प्रतिगामी, विघटनकारी, कम्युनिस्ट आन्दोलन विरोधी, विसर्जनवादी निरंकुश प्रवृत्तिविरुद्ध नयाँ संघर्ष गर्‍यौं र आजको स्थितिमा आइपुगेका छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्