२२ जेठ २०८३, शुक्रबार
घर फर्किन थाले नेपाली

दशैं मान्न घर फर्किनेहरूको लर्को : स्वदेश टेक्दा फुरुङ्ग, परिवारलाई भेट्न चटारो

असोज १९, २०७८
दशैं मान्न घर फर्किनेहरूको लर्को : स्वदेश टेक्दा फुरुङ्ग, परिवारलाई भेट्न चटारो

भारतको पञ्जाबमा रोजगारी गर्दै आएका पर्वतको कुर्घाका रमाकान्त पन्त सोमवार बिहानको मिर्मिरे घाममा रूपन्देहीको बेलहियास्थित (सुनौली) नाकामा आफ्ना गुन्टा रिक्सामा राख्दै थिए । 

कोरानो महामारीले तीन वर्षसम्म घर आउन नपाएका उनी यो वर्ष परिवारसँगै बसेर खुशीसाथ दशैं मनाउने गरी घर फर्किएका हुन् । १२ वर्षदेखि पञ्जाबको एक ‘प्राइभेट’ कलेजमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका पन्तको ३५ घण्टाको बस यात्राले गर्दा आँखा र शरीर लखतरान थियो । 

सुनौलीबाट २ किलोमिटर रिक्सामा चढेर भैरहवा बसपार्क हुँदै पर्वतको लागि गाडी चढेर घर पुग्न उनलाई हतारो देखिन्थ्यो । ‘घरमा छोरी जन्मिएर तीन वर्ष पुगिन् । तर, छोरीलाई देख्न पाएको छैन,’ पन्त भन्छन्, ‘यसपालि परिवारसँग दशैंतिहार मनाएर परदेश फर्किने सोचमा छु ।’

१२ वर्षमा ३ पटक मात्र घरमा दशैं मनाएको उनले सुनाए । ‘देशमै रोजगारीको अवसर नभएपछि परदेश भासिनुको विकल्प रहेन । भारत जान थालेको १२ वर्षमा ३ पटक मात्र घरमा दशैं मनाएको छु । नत्र चाडपर्वमा घर परिवार सम्झिने, बस्ने मात्र हो,’ पन्त गुनासो पोख्छन् । 

विगतमा दुईपटक घर फर्किँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट झञ्झट बेहोरेका पन्थले यसपटक नेपाल प्रवेश गर्दा भने सीमामा नेपाल प्रहरीबाट सहयोग पाए । 

बेलहिया नाकानजिकै पाल्पा जाने गाडीमा हस्याङफस्याङ गर्दै बोरा सहितको दुई झोला राख्दै गरेका रामपुरका युवा मनोज ठकुरी अहिले ८७ वर्षकी आमाको हातबाट दशैंको टीका लगाउने गरी घर फर्किएका छन् ।

भारतको चण्डीगढमा मजदुरी गर्ने ठकुरीले हर्षोउल्लासका साथ दशैं मनाउन मातृभूमि फर्किएको सुनाए ।

‘चण्डीगढको एक होटलमा काम गर्छु,’ ठकुरीले भने, ‘परिवारको साथमा दशैं मनाउन नपाएको धेरै भइसकेको थियो, यसपालिको दशैं बूढीआमा र परिवारसँगै मनाउने हो । भनेर घर जाँदै छु । चार वर्षमा गाउँमा पनि धेरै विकास र परिवर्तन भएको साथीहरूले ‘भिडियो कल’ मा देखाउँछन् । साँच्चै आफ्नो देश टेक्दा मन फुरूङ्ग भएको छ । घर छिटो पुगौंजस्तो भएको छ ।’

यसपालि बिहे गरेर मात्र फर्किने सोचमा रहेको उनले बताए । ठकुरीले पनि नेपाल फर्किने बेला सीमास्थित नेपाली प्रहरीबाट सहयोग पाएको भन्दै खुशी व्यक्त गरे ।

म्याग्दीको राकुबाट रोजगारीका लागि दिल्ली पुगेका पवन थापा पनि दशैं मनाउन भनेर घर फर्किएका छन् । वर्षभरी परदेशमा काम गरे पनि दशैंमा भारतमा बस्न मन लाग्ने हुँदा २५ दिनको छुट्टीमा थापा घर फर्किएका हुन् । सुनौलीबाट बेनी जाने गडीमार्फत घर जाने उनले बताए ।

‘गाउँघरमा काम पाइँदैन । काम गरे पनि पैसा तलब आउनेभन्दा बढी पहिले नै खर्च भैसक्छ । पैसा बच्दैन, त्यही भएर भारत गएको हुँ । छोरीछोरी जहान त पाल्नुपर्‍यो जसोतसो,’ पवनले भने, ‘भारतमा नेपालीलाई बहुत हेप्छन् । तर के गर्नु, उनीहरूको हेपाइ सहेर पनि काम गर्नुपर्ने बाध्यता छ । देशमा तीन तहमा सरकार बने पनि युवालाई केही गर्ने वातावरण बनाउन सकेनन् । आफ्नै दुनो सोझ्याउँछन् । सम्झिँदा पनि दिक्क लाग्छ ।’ सुनौलीमा प्रहरीले राखेको रेकर्डमा आफ्नो नाम लेखेर पवन नेपाल प्रवेश गरे । 

कालीगण्डकी गाउँपालिका स्याङ्जाका दिनेश सोमै रिक्सावालाको तानातानबाटै निस्किएर गाडीमा बसे । उनी पनि दशैं मनाउन भारतको राजधानी नयाँ दिल्लीबाट घर फर्किएका हुन् । सीमामा आउँदा उनले एसएसबीलाई पैसा दिएपछि मात्र नेपालतर्फ छिर्न दिए । उनले बेलाबेलामा भारतीय सुरक्षाकर्मीले नेपालीसँग पैसा असुल्ने गरेको गुनासो गरे ।

दशैं नजिकिएसँगै लुम्बिनी प्रदेशको प्रमुख नाका बेलहिया भएर अहिले दैनिकजसो हजारौँ नेपाली घर फर्किन थालेका छन् । गत वर्ष कोरोना महामारीले घर फर्किन नपाएका नेपालीहरू नेपाल र भारत दुवै देशमा संक्रमण मत्थर भएपछि घर फर्किएका हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन पौडेलले दशैंमा घर फर्किने नेपालीको घुइँचो लागेको बताए । ‘अहिले दैनिक १ हजारदेखि १५ सय नेपाली भारतबाट नेपाल फर्किएका छन्,’ पौडेलले लोकान्तरसँग भने, ‘चाडपर्व मनाउन आफ्नो देश फर्किनेका लागि नाकामा यात्रु सहायता कक्ष आइतबारदेखि स्थापना गरेका छौं । नेपालीहरूको नाम दर्ता र रेकर्ड राखेर घर पठाउने गरेका छौं ।’

नाकामा नेपालीलाई दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको इन्स्पेक्टर पौडेलले बताए ।

लुम्बिनी र गण्डकी प्रदेशका १० जिल्लाका धेरै नेपालीहरू सुनौली नाका भएर घर फर्किने गर्छन् । बेलहियाबाट सामान्य अवस्थामा दैनिक ४०० नेपाली नेपाल प्रवेश गर्ने गरेकोमा अहिले त्यो बढेर ६ सय नाघेको प्रहरीले जनाएको छ ।

दशैं तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् । '

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेकाहरू जमुनाहा नाका भएर घर फर्किने गर्छन् ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै घर फर्किने नेपालीको पनि भीड बढेको छ । 

प्रहरीले यात्रुलाई लक्षित गरेर बढी भीडभाड हुने ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

१८ महिनापछि आइतबारदेखि बेलहिया नाका पूर्ण रूपमा खुलेको छ ।

अब भारतीय पर्यटकहरू पनि पीसीआर जाँच गरेको ७२ घण्टाभित्रको रिपोर्ट ल्याएर नेपाल घुम्न सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्