
मन्त्रिपरिषद् बैठकले सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबारको बैठकले पन्तलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपीचन्द भट्टराइलाई तोक्ने निर्णय समेत गरेको छ ।
ऋण असुली न्यायाधिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरिएको कार्कीले जानकारी दिए ।
सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बूकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशहरूको बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरिएको प्रवक्ता कार्कीले बताए ।