२१ जेठ २०८३, बिहीबार

स्थानीयको आक्रोश : ‘सक्छौ पश्चिम सेती बनाऊ, नसक्ने भए राजनीति नगर !’

असोज १९, २०७८
स्थानीयको आक्रोश : ‘सक्छौ पश्चिम सेती बनाऊ, नसक्ने भए राजनीति नगर !’
फाइल फोटो

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । 

पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि नागरिक अन्योलमा परेका हुन् ।

पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिक सहितको सरकारी टोली आएको थियो ।

सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने/नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशंका पैदा भएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताए ।

उनले भने, ‘पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौं पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन ।’

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुंगाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणको टुंगो नलाग्दा स्थानीयमा अन्योलता बढेको आदर्श गाउँपालिकाका स्थानीय टेकबहादुर रोकायाले बताए । 

उनले भने, ‘पश्चिम सेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाए, कसले बनाउने टुंगो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिम सेती ।’

निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो समेत गरेका छन् । यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौंदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा समाजवादीका नेता शिवराज खड्काले बताए ।

उनले भने, ‘परियोजना बन्ने हल्ला चलेको ३ दशक भइसकेको छ, दर्जनौं अनुगमन समेत भए, अहिलेसम्म केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती ।’ 

पश्चिम सेती बन्ने हल्ला शुरू भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै मात्र सीमित रहेको शिखर नगरपालिका–१० का स्थानीय लोकबहादुर बलायरले बताए । उनले भने, ‘पश्चिम सेतीका नाममा धेरै राजनीति भयो, अब राजनीति गर्न छाडौं, कि पश्चिम सेती बनाउ, या त कुरै गर्न छोड्नुपर्छ ।’ 

पश्चिम सेती निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढंगले काम शुरू गर्नुपर्ने स्थानीयको माग छ । केही वर्ष पहिले पश्चिम सेती बन्ने हल्लापछि ड्यामसाइड तथा प्रभावित हुने क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार अधिक बढेको भए पनि पश्चिमसेती नबन्ने भएपछि अहिले जग्गाको कारोबारमा समेत गिरावट आएको स्थानीय बताउँछन् । 

पश्चिमसेती नबन्ने छाँटकाँट देखिएपछि स्थानीय पछिल्लो समय निकै निराश भएका छन् । नेपाल सरकारले आफ्नै लगानीमा उक्त जलाशययुक्त पश्चिम सेती निर्माण गर्ने दाबी गरे पनि स्थानीयमा सरकारले निर्माण गर्नेमा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका स्थानीय तथा नेविसंघका नेता गोविन्द खड्काले बताए ।

जलाशययुक्त पश्चिम सेती निर्माण गर्न चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिम सेती बन्छ भनेर खुशी र ढुक्क भएका स्थानीय थ्री गर्जेजले पश्चिम सेती नबनाउने भन्दै २ वर्ष पहिले आफ्ना उपकरण लगेर गएसँगै निराश बनेका हुन् ।

पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी डोटीलगायत समग्र सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीय नेताहरूप्रति आक्रोशित हुन थालेका छन् । स्थानीय भन्छन्, ‘सक्छौ पश्चिम सेती बनाऊ, नसक्ने भए पश्चिम सेतीमा राजनीति नगर !’ – विमलबहादुर विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्